अपहरण परेका गाउँपालिका अध्यक्ष धिरबहादुर शाही १९ घण्टापछि अपहरण मुक्त

 
पुष ६, दैलेख
बिप्लव माओवादीले अपहरण गरेर कब्जामा लिएका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही १९ घण्टापछि अपहरण मुक्त भएका छन् । शसस्त्र र जनपथ प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. १ छाती भन्ने स्थानबाट एउटा घरमा उनलाई लुकाउने तयारी भएका बेलामा अपहरण मुक्त गरिएको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले जानकारी दिएका छन् ।
उनलाई एउटा घरमा लुकाउने अवस्थामा लिदै गर्दा शसस्त्र र जनपथको संयुक्त टोलिले अपहरणकारीलाई घेरा हालेको थियो केही समय हवाई फायर भएपछि अपहरणकारीहरु भागेका थिए । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अपहरण मुक्त पश्चात गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई कालिकोट प्रहरीको संरक्षणमा ल्याईसकेको र अपहरणकारिहरुको खोजी कार्य तीव्र पारिएको बताएका छन् ।
शनिवार राती १२ ः ३० बजे ठाटीकाँध गाउँपालिका वडा नम्बर २ को श्रीपाटामा रहेको अध्यक्ष सुतेको घरबाट उठाई तपाँईहरुसँग बिशेष कुराकानी छ भन्दै अज्ञात स्थलतर्फ लगेका उनको १९ घण्टापछि सुरक्षा निकायको खोजीपछि आईतवार साँझ ७ बजे अपहरण मुक्त गरिएको जानकारी पाएको ठाटीकाँध गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष रुपलाल बिकले जानकारी दिएका छन् । शाहीकी धर्मपत्नी ईला मल्ल शाहीलाई भर्ताबाट फिर्ता गर्ने क्रममा आफुहरु बिजारैचौर नजिक आएका बेलामा अपहरण मुक्त भएको खवर प्राप्त भएको रुपलाल बिकले जानकारी दिएका छन् ।
बिप्लव कार्यकर्ताहरुले राज्य सत्ता सँगको लडाई रहेको र हजुरहरु सँगै कुनै पनि रिस नभएकोले हाम्रो प्रशिक्षण कार्यक्रम हरेर पर्काईदिन्छौं भन्दै औषधि, कपडा समेत लैजान आग्रह गरेको धर्मपत्नी ईला मल्ल शाहीले बताएकी छन् ।
बाटोमा कुराकानी गर्दै दुवै दम्पती दैलेख र कालिकोटको सिमानामा पर्ने भर्ताको सुकाने लेकभन्दा केही अगाडी सम्म पुगे पछि अध्यक्ष धिरबहादुर शाहीलाई अपहरणकारिहरुले अगाडीनै लगिसकेको र जंगलमा अन्य कार्यकर्ताहरुसँगको भेटमा ईला मल्लले चिनेका व्यक्तिहरुको पहिचान हुने भएपछि आफुलाई त्यही छोडेर हजुर फर्कनुस भन्दै अध्यक्षलाई मात्र लिएर गएको मल्लले बताएकी छन् ।
पालिकाका जनताहरुद्धारा समूहगत खोजी कार्य गरिएको थियो
गाउँपालिकाका अध्यक्षको अपहरण भएको जानकारी पाउने वित्तिकै स्थानीय जनताहरुले समूहगत रुपमा खोजी कार्य तीव्र पारेका थिए । बिहानै देखि बिभिन्न समूहमा स्थानीय बिभाजित भएर ठाँटीकाँध गाउँपालिका भरिका बिभिन्न जंगलहरुमा खोजी गरेको र भर्ता लेकमा हिउँ परेको जंलमा समेत खोजी गरिएको अध्यक्ष धिरबहादुर शाहीका भाई हस्त शाहीले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखले घटनाको जानकारी आएलगत्तै खोजी कार्यका लागि प्रहरी परिचालन गरेको थियो । प्रहरी प्रमुख सहितको टोली समेत ठाँटीकाँध हुने जंगलका संभावित स्थानहरुमा खोजीका लागि पुगेको थियो । दुल्लू प्रहरी, कालिकोट प्रहरी र शसस्त्र प्रहरीले सुक्ष्म रुपमा खोजी कार्य गरिरहेको थियो ।
जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले अपहरण परेको जानकारी आएसँगै सुरक्षा निकायहरुको परिचालन भैसकेको बताउँदै बिभिन्न सुरक्षा निकायहरुसँग समन्वय गरेर सुक्ष्म खोजी कार्य गरिएको बताएका छन् ।
प्रदेश र जिल्लाबाट विज्ञप्ति जारी
अध्यक्ष शाहीको अपहरण लगत्तै नेकपा कर्णाली प्रदेश र नेकपा जिल्ला कमिटी दैलेखले छुट्टा छुट्टै बिज्ञप्ति जारी गरेर अपहरण गरिएका अध्यक्ष धिरबहादुर शाहीलाई तत्काल रिहा गर्न अनुरोध गरेको थियो । नेकपा दैलेखले जारी गरेको विज्ञप्तिमा अराजनीतिक गतिविधिहरुको भत्र्सना गर्दै यथासिघ्र रिहाई गर्न माग गरिएको थियो ।
जनप्रतिनिधिहरुमा सन्त्रास
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष अपहरण परे लगत्तै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुमा सन्त्रासको वातावरण छाएको छ । दैलेखको भौगोलिक अवस्था कठिनाई भएकोले दुर्गम क्षेत्रका जनप्रतिनिधिहरु आफ्नो सुरक्षाका बारेमा चिन्ता गरेका छन् । आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था छ । चौकिमा प्रहरी निकै कम छन्, भौगोलिक बिकटता पनि उत्तिकै छ एक जनप्रतिनिधिले प्रतिक्रिया दिएका छन् ।
चन्दा तिर्ने बिषयमा कठोर बनेका थिए अध्यक्ष शाही
बिप्लव माओवादीका कार्यकर्ताहरुले दैलेखमा गत असार अगाडी सवै निकायहरुमा चन्दाको लागि पत्राचार गरेका थिए । वडा अध्यक्ष, कार्यपालिका सदस्य र स्थानीय सरकारका प्रमुख उपप्रमुखहरुलाई रकम तोकेरै चन्दा माग गरिएको बिषयले जिल्लास्तरमा पनि निकै चर्चा पाएको थियो । तत्कालिन प्रमुख जिल्ला अधिकारीले स्थानीय सरकारका जिम्मेवार व्यक्तिहरुलाई राखेर चन्दा तिर्न नहुने बिषयको छलफलमा समेत ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले आफु गल्तिपनि नगर्ने र एक रुपैयाँ कसैलाई चन्दा पनि नतिर्ने भन्दै दिएको प्रतिक्रियाले समेत चन्दाको बिषयमा कठोर बनेकै कारण उनको अपहरण भएको हुनसक्ने आशंका गरिएको छ ।
गाउँपालिकामा पनि बिप्लवका कार्यकर्ताहरुले चन्दा दिन बारम्वार आग्रह गरेको भएपनि उनले राज्यको पैसा आफुले चन्दाको रुपमा दिन नसक्ने बताएको स्थानीय आफन्तहरुले जानकारी दिएका छन् ।
सकुसल रिहा पछि सुरक्षा निकायलाई सामाजिक संजालमार्फत धन्यवाद
७ सय ५३ स्थानीय तहमध्ये गाउँपालिका अध्यक्षलाई नै अपहरण गर्ने कार्यले निकै चिन्तित भएका ठाटीकाँध गाउँपालिका लगायत दैलेखका सवै नेता तथा कार्यकर्ताहरुले सुरक्षा निकायलाई धन्यवाद प्रदान गरेका छन् । स्थानीय जनता र सुरक्षा निकायहरुको सुक्ष्म अनुसंन्धानका कारण अपहरण मुक्त सफल भएको र बिशेष गरेर नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई नेकपा नेता तथा अन्य स्थानीय बासिन्दाहरुले धन्यवाद प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार